काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकेको बताए । सरकारको तर्फबाट सकारात्मक सन्देश दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फिडेन्स आउने उनको भनाई छ । बुधवार आयोजित इकोनोमिक मिडिया एसोसिएसन नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावअनुसार कानुन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । उनले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानुन संशोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानुनहरू संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ,’ उनले भने, ‘लगानी सम्मेलन अगाडि नै यी कानुनहरू संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।’ ढ
महासंघका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरूको आईपीओ निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् । आईपीओमा जाने प्रक्रियामा रहेका कम्पनीहरूको आईपीओ रोकिएको छ । यो प्रक्रियामा रहेका कम्पनीहरूको आईपीओ जारी गर्न खुल्ला गर्नुपर्ने उनको भनाई छ । यतिबेला करिब २५/३० कम्पनीहरू आईपीओमा जाने प्रक्रियामा रोकिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij