२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध, ४४ अर्ब ८५ करोड रूपैयाँ जम्मा

सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध, ४४ अर्ब ८५ करोड रूपैयाँ जम्मा

930
Shares

काठमाडौं– सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको ४४ अर्ब ८५ करोड १४ लाख रूपैयाँ जम्मा भएको छ। योजना सुरू भएदेखि हालसम्म कोषमा ९ लाख २८ हजार ४५३ श्रमिक सूचीकृत भइसकेका छन्। त्यस्तै १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले २०७५ मंसिर ११ गतेबाट सुरू गरेको हो। योजना सुरू भएको पाँच वर्ष पूरा भएर ६ वर्ष लागेको छ। अहिले कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई सुविधा दिने काम निरन्तर भइरहेको छ। हालसम्म औषधि उपचार तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत एक लाख ४३ हजार २४२ दाबी परेका छन्।

यसमा ७६ करोड २५ लाख ५९ हजार रूपैयाँ भुक्तानी भएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत कोषले तीन हजार ६८५ वटा दाबीमा आठ करोड ७७ लाख २९ हजार भुक्तानी गरेको जनाएको छ। त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ४१४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत पाँच अर्ब ४९ करोड ६३ लाख ५० हजार भुक्तानी गरेको छ। कोषले यस्ता विभिन्न स्किमअन्तर्गत हालसम्म ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार भुक्तानी गरिसकेको छ।

कोषबाट ९३६ जनाले कर्जा सुविधा लिएका छन्। कोषले विभिन्न शीर्षकका कर्जाहरूअन्तर्गत एक अर्ब ७५ करोड ६० लाख रूपैयाँ ऋण प्रवाह गरेको छ।
जसमा ९ हजार ७४४ जनाले एक अर्ब ७२ करोड ४७ लाख ४२ हजार विशेष कर्जा लिएका छन्। १७ जनाले दुई करोड ८९ लाख ३३ हजार घर कर्जा र तीन जनाले २३ लाख ६४ हजार शैक्षिक कर्जा लिएको तथ्यांक छ। हालसम्म औपचारिक क्षेत्रमा कार्यरत तथा वैदेशिक रोजगारीमा गएका श्रमिकहरू मात्रै कोषमा आवद्ध छन्।

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समेट्ने घोषणा सरकारले गरिसकेको छ। उनीहरूलाई सरकारले पनि सहयोगदान गरिदिनुपर्ने हुन्छ। सहयोगदानका लागि सहजीकरण गर्न विभिन्न सात वटा पालिकाहरूले कोषसँग सम्झौता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij