२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

760
Shares

काठमाडौं– बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका छन् ।
बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । कार्यालयले आरोपितहरुलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धार समेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरुमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीयसलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहिको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरिक्षक डा. मनोज केसीले जानकारी दिनुभयो ।

पीडितहरुमध्ये कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij