काठमाडौं– युनिक नेपाल लघुवित्तको एफपिओ आज (बिहीबार) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलको कार्यालयमा भएको बाँडफाँटमा ३७ हजार ९४२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
जसमध्ये भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन्। उक्त एफपिओमा कुल १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए।
जसमध्ये १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। कम्पनीले जेठ ११ गतेदेखि १६ गतेसम्म उक्त एफपिओ बिक्री खुला गरेको थियो। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेको थियो।
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले उक्त सेयर निष्कासन गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij