काठमाडौं– म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
मंगलबार बिहान मालिका गाउँपालिका– २ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिए।
पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।
मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्।
घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।
पहिरोले गोठहरू पनि पुरिएका छन्। कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन्। प्रहरीका अनुसार एउटा भैंसी मरेको छ। एउटा राँगो र खच्चड भने बेपत्ता भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij