२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

1.3K
Shares

जनकपुरधाम – मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ ।

“कोराना महामारीका कारण प्रदेशको आर्थिक वृद्धिदर धेरै कम भइसकेको छ । माइन्समै झरिसकेको छ । त्यसलाई सुधार गर्न अनुत्पादक खर्च पनि कम गर्ने योजनाहरू समेटिएको छ,” उनले भने, “प्रशासनिक क्षेत्रमा अनुशासनको धेरै योजना राखिएको छ । जुन योजना राखिएको छ, त्यो कार्यान्वयन भयो भने सामुदायिक कार्यालयहरू सुधार हुनेछन् । र, गरिब, विपन्नले लाभ लिने अपेक्षा गरिएको छ ।”

सरकारी विद्यालय, अस्पताललाई सरकारले कडाइका साथ निगरानी गर्ने योजना पनि समावेश गरिएको उनले बताए । “अहिले सरकारी विद्यालय, अस्पतालमा सेवाग्राही जान मान्दैनन् । त्यहाँ देखिएको बेथिति अन्त्य गरी बढीभन्दा बढी सेवाग्राही पुर्‍याउने लक्ष्य सरकारको छ,” उनले भने, “यसको लागि केही नयाँ कार्यक्रम पनि ल्याइएको छ । र, केही पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।”

उनका अनुसार महामारीमा धेरैले रोजगारी गुमाएको भन्दै केही स्वरोजगारका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । सरकारले आन्तरिक र बाह्य लगानी भित्र्याउने योजनाहरू प्राथकिमताका साथ समावेश गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij