काठमाडौं – मुलुकभर तथा संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरेको ईसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा अब्बल मानिने युनिमोनीबीच रेमिट्यान्स सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरूमा गएर ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा ईसेवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरि रहेका ईसेवा मनी ट्रान्सफरका १० हजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबारे जसेवा मनी ट्रान्सफरका सीईओ, अजेस कोइरालाले भने, “ईसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ ।”
यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको कम्पनीले जनाएको छ । युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरूका वित्तीय आवश्यकता मध्येनजर गर्दै सहज रूपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को देश आवागमन गराउँदै आएको छ । त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ ।
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij