काठमाडौं – काठमाडौं उपत्यकाको बढ्दो कोरोना संक्रमणदर रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो । मंगलबार मध्यरातिदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ आदेश जारी गर्दै मंगलबार मध्यरातिदेखि लागू हुने गरि माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको जनाएको छ । त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।
नयाँ आदेशमा भनिएको छ, ‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्नु पर्नेछ । साथै, विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।’
त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।
यी व्यवस्थाहरू आज राति १२ बजेदेखि लागु हुने प्रशासनले जनाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij