२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको साधारण सभाबाट १२ प्रतिशत बोनश शेयर पारित

प्रभु बैंकको साधारण सभाबाट १२ प्रतिशत बोनश शेयर पारित

1.2K
Shares

काठमाडौं – प्रभु बैंकको २० ‍औं‌ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आइतबार विभिन्न निर्णयहरू पारित गर्दै उक्त सभा सम्पन्न भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं‌ बबरमहलस्थित बैंकको प्रमुख कार्यलयमा सभा आयोजना गरिएको थियो। सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ। साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष २०७७/७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोहि आर्थिक वर्षमा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने-गाभिने, एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने र समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ।

१२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरेपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ। देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरू सहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij