काठमाडौं– नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन उकालो लागेको छ। मंगलबार नेप्से परिसूचक ६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १५.८५ अंक, फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२८ अंक बढेको छ।
नेप्से उकालो लागेपनि मंगलबार कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्ब बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २३४ कम्पनीको ५५ हजार ३७८ पटकको कारोबारमा ४ अर्ब ३२ करोड २ लाख रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार तीन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, मंगलबार नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।
कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, नबिल बैंक, अपि पावर, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक उपसमूहको परिसूिचक सर्वाधिक ५.२३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक मंगलबार क्रमशः ०.५९ प्रतिशत र ०.३४ प्रतिशत घटेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij