डोटी- सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ असिटेन्ट) विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर बोहराले बताए।
बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजीकार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेतीनदीमा पौडी खेल्ने क्रममा यस आर्थिक वर्षमा मात्रै चार जनाको ज्यान गइसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij