भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सन् २०२० को अप्रिलबाट डिजेल कार बिक्री बन्द गर्ने घोषणा गरेको छ । अघिल्लो वर्ष सन् २०१८–१९ मा मारुती सुजुकीले ४ लाख ६३ हजार युनिट डिजेल कार बिक्री गरेको थियो । मारुती सुजुकी इन्डियाका अध्यक्ष आरसी भार्गवले १ अप्रिल २०२० देखि बिएस ६ (युरो ६) प्रदूषणसूचक लागू हुने भएकाले डिजेल कारको बिक्री बन्द गर्न लागेको जानकारी दिएका छन् । मारुती सजुकीले वर्षभर बिक्री गर्ने कार तथ्यांकअनुसार डिजेल सेग्मेन्टको हिस्सा २३ प्रतिशत छ ।
बिएस ६ मापदण्डलाई पालना गर्न प्रदूषण कम गर्ने इन्जिन बनाउँदा कारको लागतमा १० देखि २५ प्रतिशतसम्म वृद्धि भएर पेट्रोल कारको मूल्यमा भारु २५ हजारदेखि ६० हजार रुपैयाँसम्म वृद्धि हुने अनुमान छ । डिजेल कारको मूल्यमा भने भारु २ लाख ५० हजार रुपैयाँसम्म मूल्य वृद्धि हुने अनुमान गरिएको छ । अध्यक्ष भार्गवले प्रदूषणसम्बन्धी नयाँ मापदण्डमा उत्पादन थाल्दा सबैभन्दा बढी असर साना कारमा पर्ने बताएका छन् । यद्यपि, डिजेल कारको बिक्री बन्द गरेपछि मारुती सुजुकीको मौजुदा बजार हिस्सा नघट्ने दाबी गरिएको छ । उनका अनुसार अहिले भारतमा मारुती सुजुकीको बजार हिस्सा ५१ प्रतिशतआसपास छ ।अहिले मारुती सुजुकीको भिटारा ब्रेजा र एस क्रस दुई मोडल मात्र डिजेल भर्सनमा उपलब्ध छन् । अन्य कारहरू स्विफ्ट, बलेनो, डिजायर, सियाज, अर्टिगालगायत पेट्रोल र डिजेल दुवै भर्सनमा उपलब्ध छन् ।
डिजेल कारको बिक्री घटेको–घट्यै
भारतीय बजारमा मारुती सुजुकीका डिजेल कारको माग प्रत्येक वर्ष घटिरहेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०१२–१३ मा पेट्रोल र डिजेल कारको बिक्री करिब समान अवस्थामा थियो । उक्त वर्ष पेट्रोल कार ५३ प्रतिशत र डिजेल कार ४७ प्रतिशत बिक्री भएको थियो । तर, त्यसपछिका वर्षमा भने पेट्रोल कारको बिक्री उकालो लाग्ने र डिजेल कारको बिक्री ओरालो लाग्ने प्रवृत्ति बढेर अहिले ठूलो अन्तर कायम भइसकेको छ ।
आव २०१३–१४ मा पेट्रोल कार ५८ प्रतिशत र डिजेल कार ४२ प्रतिशत बिक्री भएको थियो । आव २०१४–१५ मा पेट्रोल कार ६३ प्रतिशत र डिजेल कार ३७ प्रतिशत बिक्री भएको थियो । आव २०१५–१६ मा पेट्रोल कार ६६ प्रतिशत र डिजेल कार ३४ प्रतिशत बिक्री भएको थियो । आव २०१६–१७ मा पेट्रोल कार ७३ प्रतिशत र डिजेल कार २७ प्रतिशत बिक्री भएको थियो । आव २०१७–१८ मा पेट्रोल कार ७७ प्रतिशत र डिजेल कार २३ प्रतिशत बिक्री भएको थियो ।
यसकारण डिजेल कारको बिक्री घट्यो
भारतमा ५ वर्षअघि पेट्रोल र डिजेलको मूल्यबीच भारु २७ रुपैयाँको अन्तर थियो । अहिले भारु १० रुपैयाँको मात्र अन्तर छ । त्यस्तै प्रदूषण बढी फैलाउने कारण देखाएर सरकारले डिजेल कारको रजिस्ट्रेसन अवधि १० वर्ष राखेको छ । तर, पेट्रोल कारको रजिस्ट्रेसन अवधि १५ वर्ष छ । अहिले पेट्रोलको तुलनामा डिजेल कारको मूल्य बढीमा १ लाख भारुको अन्तर छ । तर, नयाँ नियम लागू भएपछि २ लाख ५० हजार भारुसम्मको अन्तर आउनेछ । यसले साना कारको मूल्यमा असर पर्नेछ । हरेक वर्ष भारतमा १८ लाख युनिटभन्दा बढी साना कार बिक्री हुने गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij