२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपराष्ट्रपति पुनसँग साउदी रबियाका राजदूतको भेट

उपराष्ट्रपति पुनसँग साउदी रबियाका राजदूतको भेट

1.2K
Shares

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन्।
मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।
उपराष्ट्रपति पुनले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे।
‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ। यसका लागि हामी लगानी खोजिरहेका छौं’, उपराष्ट्रपतिले भने, ‘साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ। कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’
नेपालले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे। ‘भ्रमण वर्षमा साउदीबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौं’, उनले भने,‘साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार प्रसार र प्रोत्सान गर्नेमा पनि विश्वस्त छौं।’
उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि साउदी राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताए। उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरे।
‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्वीपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्दछ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij