काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ। गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गरेपछि नेतृत्व बिहिन रहेको टेलिकममा नयाँ नेतृत्वका लागि आवेदन माग गरेको हो।
पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त सूचनाका आधारमा आवेदकले वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेको तर त्यस्तो अवधिमध्ये कम्तीमा पाँच वर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको अनुभवसहितको आवेदकले मात्र दरखास्त दिने पाउने उल्लेख छ। साथै, आवेदकले टेलिकमको लागि आफ्नो व्यावसायिक योजना पनि पेस गर्नुपर्ने प्रावधान राखिएको छ।
उम्मेद्वारले पेस गरेको व्यावसायिक कार्ययोजना, न्यूनतम शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकन भने यसअधिको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस गर्न गठित छनोट समितिले गर्नेछ। उक्त समितिले मूल्यांकन गरी नियुक्तिका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij