अर्थ नेपाल काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र इसिमोडबीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्दत पुग्नेछ ।
समझदारीपत्रमा इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एच.एस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरे ।
ललितपुर धापाखेल स्थित इसिमोडको कार्यालयमा भएको हस्ताक्षर समारोहमा इसिमोडका उप महानिर्देहक डा.एकलव्य शर्मा, स्ट्रेटेजिक कर्पोरेसनका निर्देशक वसन्त श्रेष्ठ, प्रशासन र अर्थ निर्देशक शेखर घिमिरे र डावरका तर्फबाट एग्रो विजनेस विभागका प्रमुख डा. पंकज प्रसाद रतुरीको उपस्थिति थियो ।
यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिनेछ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिनेछ ।
यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि समझदारीको परिधिमा राखिएको छ । डाबर नेपाल र इसिमोडका बीचमा सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सम्बन्ध स्थापना हँुदै आएको छ र औषधिजन्य जडिबुटीको क्षेत्रमा नयाँ नयाँ उपलब्धि हासिल गरिएको डाबरले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij