२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल चीन जोड्ने छोटो मार्गको डिपिआर संशोधन

नेपाल चीन जोड्ने छोटो मार्गको डिपिआर संशोधन

2.3K
Shares

काठमाडौं – नेपाललाई चीन सगँ जोड्ने छोटो मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ । गत असारमा डिपिआर तयार भएता पनि वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ । नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको छ । पहिरोले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ ।

डिपिआर संशोधनको गर्न पानी पर्ने क्रम नरोकिएको कारण त्यहाँ जाने अवस्था नरहेको आयोजनाले जनाएको छ । पानी पर्न रोकिएपछि त्यहाँ गएर पहिरो खस्ने क्रम रोकिएपछि डिपिआर संशोधन गर्ने आयोजनाको भनाइ छ ।

असार मसान्तसम्ममा डिपिआर सकाएर साउनमा टेन्डर गर्ने तयारी थियो । आगामी कात्तिकबाट स्तरोन्नतिको काम अघि बढ्ने गरी तयारी थालिए पनि डिपिआर संशोधन भएपछि काम पछि धकेलिएको छ । नेपाली सेनाको मैलुङ-स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले निर्माण गरेर गत जेठमा योजनालाई ट्रयाक हस्तान्तरण गरेको थियो ।

२०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको यो सडकको गत जेठ ६ गते ट्रयाक खोलिएको थियो । ट्रयाक खोलिएपछि केही दिन सवारीसाधन सञ्चालनका लागि अनुमति पनि दिइएको थियो ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटरको दूरी तय गर्नुपर्छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटरमात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन ।

काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नु पर्दछ । तर मैलुङतर्फबाट हिँड्दा एउटा पनि घुम्ती पार गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij