काठमाडौं – आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ ।
अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन् । अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिने र ट्यांकर नचलाउने चालकबाट चाबी खोसेर उनीहरूलाई चलाउन दिने उनले बताएका छन् । त्यस्ता चालकलाई कारवाही गरिने समेत उनले बताए ।
निमित्त कार्यकारी निर्देशक भट्टराईले पेट्रोल तथा डिजेल छिट्टै सहज हुने बताए । निगमको डिपोमा पनि स्टक तेल रहेको र निगम आफैँले चालक परिचालन गरेकाले एकरदुई दिनमा अवस्था सामान्य हुने उनको भनाइ छ ।
आन्दोलनरत ट्यांकर चालक र सरकार बीच शुक्रबार सिंहदरबारमा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा सरकारले उनीहरूको माग सम्बोधन गर्ने र चालकले ट्यांकर चलाउने भएपछि सहमति भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij