२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल ग्यासको कम्पोजिटर सिलिन्डर बजारमा

नेपाल ग्यासको कम्पोजिटर सिलिन्डर बजारमा

2.8K
Shares

काठमाडौं/नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ । उक्त सिलिन्डरको बिक्री प्रवद्र्धनको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरेका थिए ।
उक्त कम्पोजिट सिलिन्डर पूर्ण सुरक्षित र विस्फोटन नहुने कम्पनीले जनाएको छ । त्यस्तै, यसलाई आगोले विस्फोट गर्न सक्दैन । हरेक कम्पोजिट सिलिन्डरलाई प्रायोगशालामा परीक्षण गरिने कम्पनीले जनाएको छ । सिलिन्डर पारदर्शी भएकाले उपभोक्ताले सिलिन्डरमा ग्यासको लेभल सजिलै जाँच्न सक्छन् । अल्ट्राभायोलेट किरणबाट सुरक्षित र इकोफ्रेन्डली मानिएको उक्त सिलिन्डर सबै मौसममा उपयुक्त हुने दाबी गरिएको छ । कम्पनीले हाल १४।२ र ५ केजीमा उक्त सिलिन्डर उपलब्ध गराएको छ ।
कम्पोजिट सिलिन्डर बिक्री सुरु गर्न आयोजना गरिएको समारोहमा नेपाल ग्यास उद्योगले मोबाइल एप घोषणा गर्नुका साथै नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो । कम्पनीका निर्देशक गोकुल भण्डारीले नेपालको मापदण्डअनुसार प्रतिसिलिन्डर १ सय ५० ग्राम सम्म घटबढ हुन सक्ने भए पनि नेपाल ग्यास उद्योगले आफ्नो मापदण्ड २० ग्र्राम मात्र तलमाथि हुन सक्ने गरी तय गरेको जानकारी गराए ।

समारोहमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रतिनिधिसभाका सदस्य किसनकुमार, प्रदेश नम्बर ३ का उद्योग वाणिज्य तथा पर्यटनमन्त्री अरुण नेपाल, प्रदेश प्रतिनिधि गीता वाग्ले, उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे, गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईलगायतको उपस्थिति थियो ।

२०२६ सालमा स्थापना भएको नेपाल ग्यास उद्योगले आइएसआई स्ट्यान्डर्ड लिएको र भारतको एक्सप्लोसिभ विभागबाट निर्धारित गुणस्तरमा चलेको जनाएको छ । यसको अटोमेटिक बोटलिङ प्लान्ट, परीक्षणस्थल रहेका छन् । यस उद्योगले प्रत्येक सिफ्टमा १२ हजार सिलिन्डर उतपादन गर्न सक्ने र १ हजार मेट्रिक टनसम्म ग्यास भण्डारण गर्ने सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij