
प्युठान – कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्।
गाउँलेमा मिल सञ्चालन गर्ने चाहना भए पनि विद्युत् क्षमता नहुँदा समस्या भएको स्थानीयको गुनासो छ। ‘दुई घण्टा जंगलको बाटो हिँडेर मिलमा पुग्छौँ’, सिरुबारीकी स्थानीय शिवा खत्रीले भनिन्, ‘गाउँमा मिल छैन। पुस्तौंदेखि यही समस्या छ।’
मकै, गहुँ, धान पिसाउन मिलमा पुग्नुपर्ने बाध्यता रहेको शिवाको भनाइ छ। ‘घरमा जाँतोमा पिस्ने चलन हराइसक्यो’, सोही ठाउँकी ५० वर्षीया सरस्वती खत्रीले भनिन्, ‘जाँतोमा दुई÷चार माना पिसाउन त सकिन्छ। तर, धेरै पिसाउन मिलमै पुग्नुपर्छ।’ गाउँमा मिल राख्नका लागि विद्युत् जडान गरिदिन वर्षौंदेखि आग्रह गरे पनि माग सुनुवाइ नभएको उनको गुनासो छ।
‘एकपटक सात÷आठ पाथी अन्न लिएर पिसाउँछौँ’, खत्रीले भनिन्, ‘जंगलको बाटो राति हिँड्न डर हुन्छ।’ गाउँका झण्डै ७० घरधुरीले मिल नहुँदाको यस्तो समस्या भोग्दै आइरहेका छन्। ‘कतिपयले मिल राख्न चाहना गरेका छन्’, खत्रीले भनिन्, ‘तर बिजुली नभएर मिल राख्न सकेका छैनन्।’
पैसा भएका ८÷१० जनाले गाउँमा मिल सञ्चालन गर्ने योजना सुनाएको वडाध्यक्ष हेमराज वलीले बताए। ‘सुरुमा मैले पनि मिल राख्न मन गरेको थिएँ’, उनले भने, ‘तर बिजुलीको क्षमता नभएर काम अघि बढेन।’ गाउँमा ‘टुफेज’को मात्र लाइन विस्तार भएको उनले जानकारी गराए। वलीका अनुसार मिल सञ्चालन गर्न ‘फोरफेज’ क्षमताको विद्युत् लाइन आवश्यक पर्छ।
अन्नपूर्ण पोस्ट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij