
अर्थ नेपाल काठमाडौँ/काठमाडौँ महानगरपालिकाले आजदेखि महानगर भित्रका सातवटा वडाका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको छ । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन उक्त निर्णय गरेको महानगरले जनाएको छ ।
जबर्जस्ती कसैले निषेध गरिएका स्थानमा सवारी साधन चलाएमा रु ५०० देखि रु एक हजारसम्म जरिवाना र अन्य थप कारबाहीसम्म पनि हुने कामपाले जनाएको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक लगाइएको छैन् ।
चारपाङ्ग्रे सवारी साधनलाई भोटाहिटीबाट असन चोकसम्म एकतर्फी निषेध गरिएको छ । यस्तै नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बाङ्गेमुढा हुँदै भेडासिं, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल, बाङ्गेमुढा भेडासिं हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने व्यवस्था मिलाइएको छ । साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिं, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij