२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

3.1K
Shares

अर्थ नेपाल
बनेपा/काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ का खडकराज पन्तले पर्यटनलाई कृषिसँग जोड्ने प्रयास थालेका छन् ।
पर्यटन व्यवसायमा २० वर्ष लामो अनुभव हासिल गरेका उनी धुलिखेलस्थित फस्कोटको थुम्का डाँडालाई छनोट गरेर त्यहाँ पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा लागिरहेका छन् ।

उनले भने – “मुस्ताङमा खेर गएको स्याउलाई नयाँ प्रविधिमा रुपान्तरण गरे झै यहाँबाट उत्पादन भएको आलुको चिप्स वा गाजरको हलुवा बनाएर पर्यटकको आर्कषण वढाउन सकिन्छ ।”

पर्यटन क्षेत्रमा रहेर गरेको पदयात्राको अनुभवलाई पर्यटन क्षेत्रको विकासमा लगाउन उनी उद्यत छन् । उनले त्यस क्षेत्रमा फूल फुल्ने र पानी कम आवश्यक पर्ने विभिन्न प्रजातिको बिरुवा रोपेर हराभरा बनाएका छन् ।

“मैले पर्यटनमार्फत समाज रुपान्तरणको पक्षमा काम गर्न कोशिश गरेको छु,” उनले भने ।
पन्तले सामुदायिक होम स्टेका लागि करिव रु ६ लाखको लगानीमा त्यस क्षेत्रमा २ वटा घर बनाउन लागेको र सात रोपनी जग्गामा आकर्षक पर्यटक गन्तब्य बनाउने योजना रहेको जानकारी दिए ।

तीन वर्षदेखि निरन्तर पर्यटन पूर्वाधारको विकासमा समय खर्चनुभएका पन्तले झण्डै रु ३ लाखको व्यक्तिगत लगानीमै खानेपानीको समस्या हल गरेको बताए । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रबाट जाडो मौसममा अन्नपूर्ण, मनास्लु, गणेश, जुगल, लाङटाङ हिमशृङखलाको समेत अवलोकन गर्न पाइन्छ ।

सदरमुकाम धुलिखेलबाट दक्षिणपूर्व ६ किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा जान बाटोको समस्या देखिएको छ । धुलिखेललाई पर्यटकीय गन्तब्यको रुपमा लिइएकाले यहाँ आन्तरिक र बाहय पर्यटकको चहलपहल बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij