२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

टिभिएस नेपाल जगदम्बा मोटर्सद्वारा नेपालकै पहिलो प्रिमियम तथा इभी सोरुम सञ्चालन

टिभिएस नेपाल जगदम्बा मोटर्सद्वारा नेपालकै पहिलो प्रिमियम तथा इभी सोरुम सञ्चालन

270
Shares
Screenshot

काठमाडौं- टिभिएस मोटर कम्पनी र नेपालका लागि आधिकारिक साझेदार जगदम्बा मोटर्सले काठमाडौंमा नेपालको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (इभी) सोरुम सञ्चालनमा ल्याएका छन्।

शुक्रबार आयोजित एक विशेष समारोहबीच टिभिएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा सोरुम उद्घाटन गरेका हुन्।

नयाँ सोरुम सञ्चालनमा आएसँगै नेपालमा टिभिएसको प्रिमियम तथा विद्युतीय सवारीसाधनको बजार उपस्थिति थप विस्तार हुने कम्पनीले विश्वास लिएको छ।

सोरुम उद्घाटनका अवसरमा बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो। कार्यक्रमकै अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई २५ वटा टिभिएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताललगायतका संस्थालाई मोटरसाइकल प्रदान गरिएको कम्पनीले जनाएको छ।मोटरसाइकल हस्तान्तरणले बाढी प्रभावित समुदायमा सेवा प्रवाह, आवागमन तथा पुनःस्थापनाका कामलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा तयार पारेको कस्टमाइज्ड हेल्मेटसमेत प्रदर्शन गरिएको थियो।नेपाली कला र सिर्जनशीलतालाई टिभिएसको प्रिमियम ब्रान्ड पहिचानसँग जोड्ने उद्देश्यले उक्त हेल्मेट तयार गरिएको कम्पनीको भनाइ छ।

टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै प्रिमियम तथा इभी सोरुम सञ्चालनले नेपाली बजारप्रतिको लगानी र प्रतिबद्धता थप स्पष्ट पारेको बताए।

उनले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टिभिएससँगको १५ वर्ष लामो सहकार्यले नेपाली बजारमा ब्रान्डको उपस्थिति र ग्राहकको विश्वास बढाउन महत्वपूर्ण योगदान गरेको बताए।

नयाँ सोरुमले ग्राहकलाई थप उत्कृष्ट ब्रान्ड अनुभव प्रदान गर्नुका साथै साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ छ।

नवनिर्मित सोरुममा टिभिएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध हुनेछन्।

ग्राहकले मोटरसाइकलसँगै आधिकारिक गियर, एसोसरिज तथा कस्टमाइज्ड हेल्मेटसमेत खरिद गर्न सक्नेछन्।

सोरुममा टिभिएस अपाचे आरटीआर २०० ४भी युएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी युएसडी प्रोजेक्टर, टिभिएस रोनिन, टिभिएस रोनिन अगोन्डा, टिभिएस आइक्युब र टिभिएस अर्बिटर उपलब्ध हुने कम्पनीले जनाएको छ।

विश्वका ९० भन्दा बढी देशमा उपस्थिति रहेको टिभिएस मोटर कम्पनी दुई तथा तीनपांग्रे सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख कम्पनीमध्ये एक हो।

नेपालमा जगदम्बा मोटर्ससँगको १५ वर्ष लामो साझेदारीमार्फत कम्पनीले आफ्नो बिक्री सञ्जाल, बिक्रीपछिको सेवा तथा ग्राहक पहुँच विस्तार गर्दै आएको छ।

कम्पनीले आगामी दिनमा पनि बजार विस्तार, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र समुदायकेन्द्रित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij