२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित

330
Shares

काठमाडौं – डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।

एसोसिएसनको शुक्रबार काठमाडौंमा सम्पन्न २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानान्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं निर्वाचित भएका छन्।

यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा गरी बाहिरिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष थकालीले बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जाको गुणस्तर र कर्जा असुली सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास र ज्ञानको आदानप्रदानलाई निरन्तरता दिने पनि बताएका छन् ।

हाल नेपालमा आठवटा राष्ट्रियस्तरका र नौ वटा क्षेत्रीयस्तरका गरी कुल १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij