काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलगायत शेयरधनी र सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र भावी रणनीतिबारे शेयरधनीलाई जानकारी गराएका थिए।
सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांशसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साधारणसभामा सहभागी शेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधिमा थप केन्द्रित हुँदै लगानीकर्ताको प्रतिफल बढाउनुपर्ने सुझाव दिएका थिए।
साथै आगामी दिनमा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै निफ्रालाई थप सबल वित्तीय संस्थाका रूपमा अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। बिहान ९ बजे सुरु भएको साधारणसभा करिब मध्यान्ह १२ बजे सम्पन्न भएको बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij