बागलुङ- बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण गर्न रु एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला खण्डमा क्षति पुगेको छ ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनी सडकलगायतका राजमार्गमा रु ३० करोडको क्षति भएको छ ।
मध्यपहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाक बगाउँदा बगरमा परिणत भएको छ । यस्तै घोडाबाधेदेखि हटियासम्मको लोकमार्गको सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो गएको छ ।
कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत स्थानमा क्षति पुगेको छ । बागलुङ बजारहुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ ।
यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकमा रु २० करोडको क्षति भएको अनुमान गरिएको छ ।
कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ । उहाँले आठ किलोमिटर लामो सडकको एक दर्जन स्थानमा पहिरो खसेको छ ।
यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा क्षति पुगेको छ । “तथ्याङ्क सङ्कलनका क्रममै छौँ, सडक पूर्वाधारमा रु २० करोड बराबरको क्षतिको अनुमान गरिएको छ”, थापाले भन्नुभयो, “ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौँ ।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij