२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

रामबहादुरको अगुवाइमा अष्ट्रियाका नेपालीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

रामबहादुरको अगुवाइमा अष्ट्रियाका नेपालीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

675
Shares

काठमाडौं – रसुवामा गत भदौमा गएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि अष्ट्रियाको साल्जबर्गमा बस्दै आएका नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्।

समाजसेवी तथा व्यवसायी रामबहादुर विश्वकर्माको अगुवाइमा साल्जबर्गस्थित नेपाली समुदायले १ हजार ७२० यूरो (करिब ३ लाख रुपैयाँ) संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका हुन्। संकलित रकम अष्ट्रियास्थित बैंकमार्फत सिधै नेपाल सरकारको कोषको खातामा जम्मा गरिएको जनाइएको छ।

बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अभियानका अगुवा रामबहादुर विश्वकर्माले यसअघि नै २० हजार रुपैयाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक कोषमा समेत सहयोग गरेका थिए।

साल्जबर्गमा लामो समयदेखि बस्दै आएका विश्वकर्मा त्यहाँ ‘काठमाण्डौ रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गर्दै आएका व्यवसायीसमेत हुन्। उनको विशेष सक्रियतामा परिवारका सदस्य तथा साल्जबर्गमा बसोबास गर्ने अन्य नेपाली दाताहरूबाट सहयोग रकम संकलन गरिएको हो।

कसले कति सहयोग गरे ?

राहत अभियानका अगुवा रामबहादुर विश्वकर्मा र राजु विश्वकर्माले २५० यूरो तथा नेपाल रकम पठाउँदा लाग्ने बैंक शुल्कबापत ३० यूरो गरी कुल २८० यूरो सहयोग गरेका छन्।

त्यस्तै, सोम कुमारी र हाइकोको खातामार्फत ५७० यूरो संकलन भएको छ। उक्त रकममा सोम कुमारी वि.क.ले २०० यूरो, प्रेमबहादुर वि.क.ले २०० यूरो, सोमबहादुर वि.क.ले १०० यूरो, राजेश वि.क.ले ५० यूरो र गोपाल वि.क.ले २० यूरो योगदान गरेका छन्।

यसैगरी प्रकाश खड्का, कृष्णबहादुर कामीले १००/१०० यूरो, अमृत कुमार वि.क., पुष्पा रसायली वि.क., सम्झना वि.क. र जय (भीमसिं) ले ५०/५० यूरो सहयोग गरेका छन्।

राहत कोषका लागि रामचन्द्र वि.क., रोशन वि.क., मनीषा वि.क., सुनिल वि.क., प्रकाश सुनार, सरीना वि.क., आयुश विश्वकर्मा, अमृत पौडेल वि.क., दिपेन्द्र सुनार, बुद्धीमान वि.क., लक्ष्य बहादुर वि.क. र राम वि.क. ले जनही ३० यूरोका दरले सहयोग गरेका छन्।

त्यस्तै, राजु वि.क., रीनु वि.क. र प्रेमबहादुर वि.क. ले समेत जनही ३० यूरोका दरले सहयोग गरेका छन्।

को हुन् रामबहादुर विश्वकर्मा ?

करिब तीन दशकअघि अष्ट्रिया पुगेका रामबहादुर विश्वकर्मा साल्जबर्ग शहरमा नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी तथा समाजसेवी हुन्। अष्ट्रियामा नेपाली कला, संस्कृति र पहिचानको प्रवद्र्धनका साथै समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

अष्ट्रिया जानुअघि उनी आफ्नो जन्मथलो पर्वत जिल्लाको चित्रेमा रहेको श्री दुर्गा भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक थिए। तत्कालीन पञ्चायती व्यवस्थाको समयमा राजनीतिक तथा सामाजिक विभेदका कारण उनले शैक्षिक क्षेत्र छाड्नुपरेको बताइन्छ।

शिक्षण पेशा छाडेर प्रवासमा पुगे पनि विश्वकर्माले आफ्नो मातृभूमि र नेपाली समुदायप्रतिको सम्बन्धलाई निरन्तर कायम राख्दै आएका छन्। विपद्का समयमा सहयोग जुटाउनेदेखि विदेशमा रहेका नेपालीबीच आपसी सहकार्य र सामाजिक एकताका लागि समेत उनी सक्रिय रहँदै आएका छन्।

रसुवाका बाढी तथा पहिरोपीडितका लागि साल्जबर्गमा रहेका नेपालीहरूले गरेको यो सहयोगले प्रवासमा रहे पनि मातृभूमिमा आइपरेको विपद्मा नेपाली समुदायको मानवीय ऐक्यबद्धता र सहयोगी भावनालाई थप उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij