२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट १४ करोडको क्षति

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट १४ करोडको क्षति

350
Shares

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न मालसामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट खाद्यान्न, किरानालगायतका पसल, अलैँची गोदाम, भाँडावर्तनसहितका घरायसी सामाग्री, नगद तथा सुनका गरगहना जलेका छन् ।

पीडित परिवारले दिएको जानकारी तथा आगलागीले ध्वस्त भएका संरचनाको अवस्था हेरेर प्रारम्भिक क्षतिको विवरण एकिन गरिएको प्रहरी नायब उपरीक्षक बजगाईंले जानकारी दिनुभयो । आगलागीबाट ८ परिवारका १० वटा घर जलेका थिए । स्थानीय याम लिम्बू, घनश्याम खरेल, राजु शेर्पा, सुकविर लिम्बू, डण्डु शेर्पा, भीम लिम्बू, राजेन्द्र पौडेल र चन्द्र पौडेलको घर जलेको थियो ।

प्रहरी नायब उपरीक्षक बजगाईंका अनुसार स्थानीय घनश्याम खरेलको रु दुई करोड बराबरको अलैँची राखिएको गोदाम जलेर पूर्णरूपमा ध्वस्त भएको थियो । जलेका घरहरूमा अन्य १४ परिवारले भाडामा कोठा, गोदाम लिएर बसोबाससहित विभिन्न व्यापार व्यवसाय गर्दै आएका थिए । उनिहरुको समेत सामान जलेर नष्ट भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीसहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागी प्रभावित परिवारलाई तत्कालका लागि आवश्यक राहत तथा उद्धार कार्यमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij