२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

160
Shares

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तरराष्ट्रिय वित्त निगमलगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभयो ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।
उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij