२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

हिमालय एअरलाइन्स्को काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान फेरि सुरू

हिमालय एअरलाइन्स्को काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान फेरि सुरू

260
Shares

काठमाडौं – हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः नियमित रूपमा सिधा उडान सेवा सुरू गरेको छ।

एयरलाइन्सका अनुसार सोमबारदेखि यो रुटमा नियमित उडान पुन: सुरू भएको हो। पहिलो उडानअन्तर्गत उडान नम्बर ‘एचनाइन ७८०’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७:११ बजे सांघाईका लागि प्रस्थान गरी चिनियाँ समयअनुसार भोलिपल्ट बिहान २:३६ बजे पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।

सांघाईबाट उडान नम्बर ‘एचनाइन ७८१’ बिहान ४:३६ बजे प्रस्थान गरी नेपाली समयअनुसार बिहान ८:१३ बजे काठमाडौं अवतरण गरेको थियो।

यो सेवा पुन: सुरू भएसँगै काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने हिमालय एयरलाइन्स एकमात्र वायुसेवा कम्पनी बनेको एयरलाइन्सले जनाएको छ।

प्रारम्भिक चरणमा कम्पनीले यस रुटमा साताको दुई उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। जसअनुसार काठमाडौंबाट हरेक सोमबार र शुक्रबार तथा सांघाईबाट हरेक मंगलबार र शनिबार उडान हुनेछन्।

आगामी दिनमा यात्रुको माग तथा ‘लोड फ्याक्टर’ का आधारमा उडान संख्या थप गर्दै जाने योजना रहेको कम्पनीले उल्लेख गरेको छ।

Ncell
उडान पुन: सञ्चालनबारे जानकारी दिँदै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइ दिने बताएका छन्।

उनले भने, ‘हिमालय एयरलाइन्स नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन सधैँ तत्पर छ।हामीले चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान विस्तार गरिरहेका छौँ। यो उडानले दुई देशका नागरिकस्तरको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै पर्यटन र व्यापार प्रवद्र्धन गर्ने हाम्रो उद्देश्यलाई टेवा पुर्‍याउनेछ।’

उपाध्यक्ष श्रेष्ठले यस रुटमार्फत यात्रुहरूलाई सुरक्षित र स्तरीय सेवा प्रदान गर्दै अविस्मरणीय यात्रा अनुभव गराउन एयरलाइन्स प्रतिबद्ध रहेको बताएका छन्।

नेपालको मुख्य पर्यटकीय सिजनको सुरुआतमै उडान पुन: सञ्चालन हुनु रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण रहेको एयरलाइन्सले जनाएको छ।

यसले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्र र मुलुकको आर्थिक पुनरुत्थानमा सकारात्मक योगदान पुर्‍याउने कम्पनीले विश्वास व्यक्त गरेको छ।

यात्रुहरूले एयरलाइन्सको टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

सन् २०१४ मा नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्ससँग हाल तीनवटा एयरबस ३२० र एउटा एयरबस ३१९ गरी कुल चारवटा विमान सञ्चालनमा छन्।

कम्पनीले हाल मध्यपूर्व र दक्षिण एसियाका विभिन्न गन्तव्यसहित चीनमा नियमित उडानहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij