२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

टिमुरे बाढीमा ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

टिमुरे बाढीमा ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

290
Shares

काठमाडौँ- रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने क्रममा विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो । विभागले यही असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यही असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासङ्घले विभिन्न सदस्य सङ्घ, समिति तथा कम्पनीबाट सङ्कलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ ।
महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ १० गतेको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण सङ्कलन गर्न आग्रह गरेपछि महासङ्घले सदस्य संस्थाबाट प्राप्त विवरण सङ्कलन गरी पठाएको जानकारी दिनुभयो ।

विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका २१७ ट्रक तथा कन्टेनर र २५१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । यस्तै नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाका ५८ ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी सङ्घ सिमराका २१ सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी सङ्घ नेपाल, बल्खुका १० कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी गण्डकी ट्रक व्यवसायी सङ्घ पोखराका २१ ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासङ्घले जनाएको छ ।

नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार थप विवरण सङ्कलन हुने क्रम जारी रहेकाले बगेका सवारीसाधन तथा सम्पर्कविहीन व्यक्तिको सङ्ख्या अझै बढ्न सक्नेछ । महासङ्घका अध्यक्ष बानियाँले प्राप्त विवरण प्रारम्भिक भएकाले थप तथ्याङ्क प्राप्त भएमा त्यसलाई समेत समेटिने बताउनुभयो । उहाँका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण सङ्कलनसँगै प्रभावित व्यवसायी तथा परिवारको राहत, क्षतिपूर्ति र पुनःस्थापनाका विषयमासरकारले आवश्यक पहल गर्नुपर्ने अवस्था छ ।

यातायात व्यवस्था विभागले पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा गत भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ ।

विभागले विपद्बाट भएको क्षतिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै संस्थाहरूले आफ्नो पहिचान खुलाएर विवरण पठाउनुपर्ने र सम्भव भएसम्म तथ्याङ्कको स्रोतसमेत उल्लेख गर्नुपर्ने जनाएको थियो । महासङ्घले सोही आग्रहअनुसार आफू मातहतका सङ्घ तथा समितिबाट विवरण सङ्कलन गरी विभागमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij