२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

835
Shares

जनकपुरधाम – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ।

व्यापारिक समुदायसँग प्रत्यक्ष संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा आयोजित उक्त बैठकमा अटोमोबाइल क्षेत्रका चुनौती, सम्भावना तथा नीतिगत विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ।

भेटका क्रममा अध्यक्ष उप्रेतीले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा प्रस्तुत गर्दै यस क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको तथा देशभर करिब १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको जानकारी गराएका थिए।

छलफलका क्रममा नाडाले तीन प्रमुख प्राथमिकता अघि सारेको थियो। जसमा दर्ता शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) संरचनामा बहुवर्षीय स्पष्टता कायम गर्ने, माध्यमिक शहरका डिलरशिपलाई विद्युतीय सवारी (ईभी) चार्जिङ केन्द्रका रूपमा विकास गर्न संयुक्त कार्यदल गठन गर्ने तथा ईभी संक्रमणका लागि आवश्यक सेवा प्राविधिकहरूको पुनः तालिममा प्रादेशिक सहयोग उपलब्ध गराउने विषय समावेश रहेका थिए।

सो अवसरमा अध्यक्ष उप्रेतीले “हामी कर छुट माग गरिरहेका छैनौँ, हामी स्पष्टता माग गर्दैछौँ,” भन्दै कर नीतिमा स्थायित्व भए ग्रामीण क्षेत्रमा सेवा केन्द्र विस्तार तथा प्राविधिक जनशक्ति नियुक्तिमा निजी क्षेत्र उत्साहित हुने बताए। उनले कर दायित्वसम्बन्धी अन्योलताले व्यवसाय विस्तारमा बाधा पुग्ने उल्लेख गर्दै अर्थ मन्त्रालयसँग नियमित संवाद संयन्त्र स्थापना गर्न प्रस्तावसमेत राखेका थिए।

बैठकको अन्त्यमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण थप सुदृढ बनाउन तथा निजी क्षेत्रको लगानी वृद्धि गर्न नाडासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। प्रदेशको आर्थिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

उक्त भेटवार्तामा मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, राजस्व अधिकृत जयकुमार राउत लगायतको उपस्थिति रहेको थियो। नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij