२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

गृह मन्त्रालयद्धारा एनप्याब्सन निलम्बित

गृह मन्त्रालयद्धारा एनप्याब्सन निलम्बित

160
Shares

काठमाडौं -सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। गृह मन्त्रालयले ऐनअनुसार दिइएको निर्देशन पटक–पटक पालना नगरेको र स्वीकृत विधान तथा संस्थाको उद्देश्यविपरीतका गतिविधि गरेको भन्दै संगठन निलम्बन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन प्याब्सनलाई निलम्बन गरिएको जनाएको छ।

गृह मन्त्रालयका अनुसार संगठनले राष्ट्रिय निर्देशन ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशन पालना नगरेको पाइएको हो। संगठनका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका काम भएको पनि मन्त्रालयको सूचनामा उल्लेख छ।

यस विषयमा मन्त्रालयले असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

निलम्बनसम्बन्धी सूचनामा निर्णयपछि संगठनका नाममा कुनै समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिइएको छ। त्यस्ता गतिविधि भए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ। निलम्बनसम्बन्धी निर्णय अर्को व्यवस्था नभएसम्म कायम रहने मन्त्रालयको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij