२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

मिसेस वर्ल्ड श्रीदाकेत क्रेथोर्न (स्यामी) पहिलोपटक नेपाल आउँदै

मिसेस वर्ल्ड श्रीदाकेत क्रेथोर्न (स्यामी) पहिलोपटक नेपाल आउँदै

285
Shares

काठमाडौं- मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि भोलि शुक्रबार नेपाल आउने भएकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। उनले मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई बधाई दिन नेपाल आउन पाउँदा खुसी व्यक्त गरेको आयोजक संस्थाका प्रमूख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए। एनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेकी छन्।
स्यामीको नेपाल भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।
सौन्दर्य प्रतियोगिताबाट प्राप्त ताजलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने मान्यता राख्ने स्यामीले आमाहरूको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएकी छन्। जब आमा खुसी हुन्छिन्, तब परिवार र समाज पनि बलियो बन्दै जान्छन् भन्ने सन्देशसहित अघि बढाइएको उनको अभियानले आमाको खुसी, सकारात्मक सोच र पारिवारिक सुखको महत्त्वलाई उजागर गर्दै आएको छ।
उनका लागि सौन्दर्य प्रतियोगिताको उपाधि व्यक्तिगत उपलब्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। आफूले प्राप्त गरेको अवसर, आवाज र भूमिकालाई अन्य महिलाको प्रेरणाका लागि उपयोग गर्नुपर्ने उनको दृष्टिकोण छ।
यस वर्षको मिसेस नेपाल वर्ल्डमा २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा छन्। स्यामीको उपस्थितिले प्रतियोगीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव बुझ्न र महिला सशक्तीकरणका विषयमा थप प्रेरणा लिन सहयोग पुग्ने विश्वास आयोजक शिला बास्तोलाले व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij