२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

445
Shares

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नु भएको छ ।

गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गर्नुभएको छ ।

रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएका उहाँले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताउनुभयो । उहाँले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गर्नुभएको छ ।

“विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ”, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भन्नुभयो, “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ ।”

थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन । काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकोले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

केहि वर्ष अघिसम्म गाउँकमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पु¥याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ ।

गाउँमा सुरुमा आफुले थ्रेसर मेसिन सञ्चालन गरेपनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिष्पर्धा हुने गरेको छ । यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राती १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पु¥याउने गरेको अमजतले बताउनुभयो ।

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ । नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री विगत एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आउनुभएको छ ।

त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उहाँको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ । “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन”,उहाँले भन्नुभयो, “मजदुरी लगाउँदा समय धेरै लाग्छ । तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्राउन पाइन्छ । पैसा भएपछि रोप्नदेखि उत्पादन भित्राउनसम्म धेरै सजिलो भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij