२०८३ असोज २२ बिहिबार

Oct 08 2026 Thursday

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

330
Shares

हेटौँडा- बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा तीनवटा र रसुवामा दुईवटा झोलुङ्गे पुल निर्माण गरिनेछ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित मेरिस्टोप मार्गदेखि वडा नं १२ को कफीबारी जोड्ने स्थान, सिम्तचौर र तिर्तिरे भीरमा झोलुङ्गे पुल निर्माण गरिनेछ । त्यस्तै रसुवाको स्याफ्रुबेँसी र थुमनबाट लिङलिङ जोड्ने स्थानमा एक–एकवटा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको मन्त्री केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोटको फलाखु खोलास्थित कुवापानी र विदुरस्थित त्रिशूली नदी वारपार गर्ने स्थानमा एक–एकवटा बेलिब्रिज निर्माण गरिनेछ ।

बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा पुनःस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न विभिन्न मन्त्रालयका प्रस्तावित कार्यक्रमको बजेट कटौती गर्ने निर्णयसमेत गरेको छ । मन्त्री केसीका अनुसार कटौती गरिएको बजेट विपद् व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा परिचालन गरिनेछ ।

यसैगरी बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ को नियम २६ को उपनियम (१) बमोजिम मन्त्रिपरिषद् मातहतका तीनवटा विषयगत समितिलाई पूर्णता दिएको छ ।

प्रशासन तथा विधेयक समितिको संयोजकमा सरल सहयात्री पौडेल तथा सदस्यमा भरतबहादुर केसी र राजेन्द्र प्रजापति, राजनीतिक समितिको संयोजकमा गिरबहादुर तामाङ तथा सदस्यमा राजेन्द्र प्रजापति र ज्ञानबहादुर तामाङलाई तोकिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भरतबहादुर केसी तथा सदस्यमा राजु विष्ट र रमा आलेमगर रहने निर्णय भएको छ । बैठकले प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका लागि विनियोजित बजेट कार्यान्वयन तथा खर्च गर्ने अख्तियारी प्रदान गरेको छ ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेट विनियोजन भएका २१ वटा आयोजना सञ्चालन गर्न रु १३ करोड ८२ लाख ८१ हजार खर्च गर्ने अख्तियारी दिने निर्णयसमेत गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij