२०८३ असोज २२ बिहिबार

Oct 08 2026 Thursday

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

215
Shares

म्याग्दी- राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो ।

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।

हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत् उत्पादन पुनः सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताउनुभयो । “बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयोे, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुई वटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झीँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो ।

दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij