अब ६५ वर्ष कटेपछि बैंकको सिइओ बन्न नपाइने

काठमाडौं – अब ६५ वर्ष उमेर पुगेपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने भएको छ।नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन नपाइने व्यवस्था गरेको हो।
यदी बैंकमा कार्यकाल रहेको अवस्थामा भने ६९ वर्षसम्म वहाल रहन सक्ने व्यवस्था गरिएको छ। बैंकमा प्रमुख कार्यकारीको पदावधि सामान्यतः ४ वर्षको हुने गर्छ। नयाँ व्यवस्थाअनुसार ६५ वर्ष पुगेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको सिइओ हुन पाइने छैन। तर ६५ नपुग्दै नियुक्त भएको अवस्थामा भने ६९ वर्ष हुँदासम्म सिइओ पदमा रहेर काम गर्न सकिनेछ।
६५ वर्षपछि सामान्यतः काम गर्ने उमेर नभएकाले उमेरको हदवन्दी तोकिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। ‘बाफियामै यो व्यवस्था गर्ने भनिएको हो, तर यो तत्काल लागू गर्नुपर्ने भएकाले निर्देशनमार्फत लागू गरिएको हो’ सेतोपाटीसँगको कुराकानीमा निरौलाले भने।
यस्तै संचालक समिति सदस्य नियुक्त सम्वन्धमा पनि उमेर हद तोकिएको छ। अब ७० वर्ष उमेर पुगेकाहरु संचालक समितिमा रहन पाउने छैनन् तर बहाल रहेको अवस्थामा भने ७४ वर्षसम्म रहन सक्नेछन्।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology